अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ। यो श्रृंखलामा आइतबार अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच महत्त्वपूर्ण छलफल सम्पन्न भएको हो।
छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशालाई संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सृजना गर्न “भगत सर्वजित उद्यमशिलता विकास कार्यक्रम”लाई प्रविधिमैत्री बनाउने र उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने रणनीति तय गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकामा रहेका उद्योगहरुलाई बाहिरी औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने र स्थानान्तरण भएका उद्योगलाई विशेष सहुलियत दिने प्रस्तावमा समेत छलफल भएको छ।
छलफलमा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुर (मयुरधाप) र चितवन (शक्तिखोर) मा आधुनिक औद्योगिक क्षेत्र विकास गर्ने विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्य सम्बन्धित मन्त्रालय र विभागहरूसँग क्रमशः यस्ता छलफलहरू जारी राख्ने जनाएको छ।