ट्रेन्डिङ

Logout

पाथीभरा यात्रामा करेन्ट लागेर जिपमा आगलागी: ४ जनाको मृत्यु, सरकारको लापरबाहीले त्रासदी निम्त्यायाे

8k Shares

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्री चढेको बोलेरो जिपमा सोमबार बिहान करेन्ट लागेर आगलागी हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४:५० बजे फुङलिङ नगरपालिका–१०, तेर्सै भन्ने स्थानमा दुर्घटना भएको हो। पत्रकार वसन्त लिम्बूका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिप छोएपछि आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

यस हृदयविदारक घटनामा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय गाडी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, उनका हजुरबुवा ७० वर्षीय विनोद पौडेल र हजुरआमा ६९ वर्षीया सरिता पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए।

घटनामा गम्भीर घाइते भएकी सविना (सन्ध्या) आचार्यको शरीरको अधिकांश भाग जलेको छ। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि तयारी भइरहेको छ। उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन्।FB_IMG_1745209533363.jpg

यो दुर्घटनाले देशका ग्रामीण तथा धार्मिक पर्यटकीय स्थलहरूमा संरचनागत लापरबाही र राज्यको चरम उदासीनता पुनः उजागर गरेको छ। यात्रुहरू ज्यानको जोखिममा यात्रा गरिरहँदा सडकमै लत्रिएका बिजुलीका तार हटाउनेतर्फ सम्बन्धित निकायको बेवास्ता रहेको यस घटनाले देखाएको छ।

विद्युत प्राधिकरणको निगरानी अभाव, स्थानीय तह र सुरक्षा निकायबीच समन्वयको कमी, र संवेदनशील धार्मिक यात्रामा पनि सुरक्षा प्रबन्ध नगर्नु सरकारको लापरबाहीको स्पष्ट प्रमाण हो।FB_IMG_1745211489319.jpg

प्रत्येक वर्ष लाखौं श्रद्धालु पाथीभरा दर्शनमा जान्छन्। तर ती यात्रुहरूको सुरक्षामा सरकारको चासो र तयारी न्यूनस्तरको देखिन्छ।

यस दुःखद दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ। मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारहरूलाई न्याय मिलोस् भन्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार