ट्रेन्डिङ

Logout

सप्तकोशी नदीमा उच्च वहाव: कोशी ब्यारेजका २३ ढोका खुला, खतराको संकेतस्वरूप रातो बत्ती

5.7k Shares

सुनसरी — अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेपछि कोशी ब्यारेजका २३ ढोका खोलिएको छ।

आईतबार साँझ कोशी ब्यारेज हुँदै प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानी बगिरहेको मापन गरिएको थियो। आज बिहान पनि वहाव एक लाख ७५ हजार ६८५ क्युसेकमा मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

उहाँका अनुसार, हाल कोशी ब्यारेजका ५२ मूल ढोका र चार नहरसहित कुल ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ। पानीको वहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार अहिले कोशी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

२०६५ सालको भदौ २ गते, सप्तकोशीमा एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएको भयावह स्मरण अझै ताजा छ। त्यसैले यसपटक पनि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

सप्तकोशी नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले, नदी किनारका बासिन्दाहरूले सुरक्षित स्थानमा बस्न तथा प्रशासनको सूचना पालना गर्न सशस्त्र प्रहरीले अपिल गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार