ट्रेन्डिङ

Logout

लगातारको वर्षाले कालीगण्डकीमा उर्लदो बहाव, शालिग्राम शिला डुबानमा, तटीय बस्ती उच्च जोखिममा

4.9k Shares

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा परेको अत्यधिक वर्षाले नदीको सतह खतरनाक रूपमा बढाएको हो। आइतबार बिहान कालीगण्डकी नदी ६ मिटर ४० सेन्टिमिटर उचाइमा बगिरहेको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो, जुन यस वर्षकै सबैभन्दा उच्च मापन हो। विहान मात्रै ७.४० मिटरको विन्दु छोएको बहाव वर्षा रोकिएकाले केही कम हुँदै जाने अनुमान गरिएको छ। तर, नदी किनारमा रहेका बस्तीहरू जस्तै पर्वत जिल्लाको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिकाका विभिन्न स्थानहरू डुबानको उच्च जोखिममा परेका छन्। विशेषतः बगरफाँट, वारीबेनी, लस्ती, मिलनचोक, मालढुङ्गा, मोदीबेणी, जैमिनीघाट र सेतीवेणीबजार जोखिमपूर्ण अवस्थामा छन्।

यसैबीच, कालीगण्डकीको तीव्र बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला समेत डुबानमा परेको छ। शालिग्राम क्षेत्रका सत्तल, तटबन्ध, दर्शनका संरचना र ग्याबियन सबै बगाउँदा पुजारी तथा पण्डितहरू चिन्तित बनेका छन्। शिलामा दर्शन गर्न बनाइएको पूर्वाधार पूर्ण रूपमा नष्ट भएको तिलक पराजुलीले जानकारी दिनुभयो।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिए पनि सेतीखोला र कालीगण्डकी दुवैको बहाव बढेकाले सेतीवेणीबजार डुबानको जोखिममा छ। यसले पर्वत र स्याङ्जाको बजार क्षेत्रका करिब दुई सय व्यापारी र सर्वसाधारण त्रासमा परेका छन्। विसं २०६६ असोज २१ मा भएको डुबानपछि तीन दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्मरण गर्दै स्थानीय व्यवसायी विष्णु न्यौपानेले अहिले पनि त्यही खतरा दोहोरिन सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले शालिग्राम शिला डुबानमा परे पनि बजार क्षेत्रमा भने पानी नपुगेको जनाउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार