ट्रेन्डिङ

Logout

अक्षय तृतीया पर्वमा मिथिलामा सातु र सर्वत वितरण, बटुवालाई स्वागत

7.9k Shares

जनकपुरधाम। मिथिला क्षेत्रमा वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि बटुवाहरूलाई सातु र सर्वत वितरण गरिएको छ। गर्मीको मौसममा पसिना चुहाउँदै हिँड्ने बटुवाहरूलाई जौको सातु र सक्खर, मिश्री, मरिच मिसाइएको शीतल सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने जनविश्वास छ। 


यो पर्वमा जात, धर्म, सम्प्रदाय वा लिङ्गको भेदभाव नगरी सातु र सर्वत वितरण गरिन्छ। मिथिला क्षेत्रका गाउँ–बस्तीका चोकहरूमा मैथिल र मिथिलानीहरू सातु र सर्वत लिएर बटुवाहरूलाई स्वागत गर्न बसेका छन्। 


“गर्मीले हिँड्नेहरूलाई खाना र पानी समयमा नपाउन सक्छन्। सातु र सर्वत खाँदा बटुवाहरूले आशीर्वाद दिन्छन्,” भङ्गाहा–४, रामनगरकी ७५ वर्षीया जानकीदेवीले भनिन्। 


मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्णले अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा पाइने बताए। यो पर्वलाई भगवान् शिव र पार्वतीको विवाहको दिनका रूपमा पनि मानिन्छ। ब्राह्मण र गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गर्दा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक विश्वास छ। 


गर्मीमा पसिना बढी बग्दा शरीर कमजोर हुने भएकाले सक्खर र चिनी मिसाइएको शीतल सर्वत र पौष्टिक जौको सातुले चिनीको सन्तुलन कायम राख्न मद्दत गर्छ। यो दिन नयाँ घरबास, अन्नप्राशन र विवाहजस्ता शुभ कार्यका लागि साइत हेर्नु नपर्ने मैथिल परम्परा छ। सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि यो पर्वको विशेषता हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार