ट्रेन्डिङ

Logout

रास्वपाको सचिवालयको निर्णय–प्रक्रिया: नेतृत्व पुनर्गठन र स्थानीय संरचना परिवर्तन

3k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हिजो सम्पन्न सचिवालय बैठकले संगठन सुदृढीकरणदेखि आन्तरिक संरचना व्यवस्थापन र आगामी राजनीतिक रणनीतिसम्म केन्द्रित रहँदै पाँच महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा हाल विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग भइरहेको संवाद र समन्वय प्रक्रियाबारे उच्च संवाद समितिबाट विस्तृत जानकारी प्रस्तुत गरियो।

केन्द्रीय समितिको मंसिर ३ गतेको निर्देशनअनुसार सम्भावित राजनीतिक ध्रुवीकरण र आवश्यक सहकार्यलाई ठोस परिणाममा पुर्‍याउन सचिवालयले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। सुशासन र द्रुत विकासका पक्षमा उभिएका वैकल्पिक शक्ति तथा व्यक्तिलाई एउटै उद्देश्यका लागि संगठित हुन आह्वान गर्ने निर्णय पनि गरिएको छ।

पार्टीका तीन केन्द्रीय निकाय—अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग—मा रहेका रिक्त पद पूर्तिका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

प्रदेश इन्चार्जको भूमिकामा रहेर कार्य सम्पन्न गरेका सचिवालय सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै उनीहरूलाई अब निर्वाचन केन्द्रित भूमिकामा सक्रिय बनाउन तथा प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोक्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ।

संगठन विस्तारलाई थप प्रभावकारी बनाउन सबै स्थानीय तहमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने र त्यसका लागि प्रदेश तथा जिल्ला संगठनलाई आवश्यक निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, कार्यसम्पादन मूल्यांकन प्रतिवेदनको आधारमा पार्टी विधानको धारा ७० अनुरूप कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरिएको छ।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार