जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरता संयोग नभई योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ।
आइतबार एक विशेष कुराकानीमा बोल्दै सचिव साहले संघीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “संघीयता प्राप्त गर्न मधेशले ठूलो आन्दोलन, बलिदान र संघर्ष गरेको इतिहास हामी सबैलाई थाहा छ। तर आज यही व्यवस्थामाथि प्रश्न उठाउने, प्रदेश सरकार अस्थिर पार्ने र जनताको विश्वास कमजोर बनाउने खेल चलिरहेको छ।”
सचिव साहले संघीयता र समावेशी लोकतन्त्रका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई मौन नबस्न आग्रह गर्दै समयमै सचेत भई एकजुट भएर षड्यन्त्रको विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
“संघीयता हाम्रो अधिकार हो, हाम्रो पहिचान हो र देशको स्थायित्वको आधार हो,” उहाँले भन्नुभयो, “त्यसैले संघीयता जोगाऔं, मधेशको अधिकार र स्वाभिमानको रक्षा गरौं र राजनीतिक स्थायित्वका लागि एकजुट बनौं।”
सचिव साहले प्रदेशसभा सदस्यहरूलाई समेत सन्देश दिँदै भन्नुभयो, “प्रदेश नामाङ्कनको समयमा जसरी हामीले एकताको उदाहरण प्रस्तुत गरेका थियौं, अहिले फेरि त्यही एकजुटता देखाउने बेला आएको छ। राजनीतिक स्थायित्वका लागि सबै शक्तिहरू एक हुनुपर्छ।”