जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका छन्। विश्वासको मत लिने क्रममा गठबन्धनभित्रै देखिएको विद्रोहपछि मुख्यमन्त्री सोनलले संवैधानिक प्रक्रिया अघि बढाउन लिखित राजीनामा बुझाएका हुन्।
छ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका लोसपा नेपालका बरिष्ठ उपाध्यक्ष सोनलले विश्वासको मत लिन नसक्ने स्थिति सिर्जना भएपछि यो निर्णय लिएका हुन्। गठबन्धनभित्रकै एक दलका केही प्रदेश सांसदले आफ्नै दलको निर्णयविपरीत गतिविधि गर्न थालेपछि विश्वासको मतमा असर पर्ने अवस्था सिर्जना भएको थियो।
प्रदेश सभामा विश्वासको मत लिने तय कार्यक्रममा गठबन्धन दलभित्र अप्रत्याशित रूपमा देखिएको असहमतिले संकट सिर्जना गरेको थियो। यसले गठबन्धन दलबीच थप छलफल आवश्यक भएको र संवैधानिक प्रक्रिया अनुसार अघि बढ्नुपर्ने अवस्था आएको लोसपा नेपालले जनाएको छ।
राजनीतिक विश्लेषकहरूले यसलाई मधेश प्रदेशको राजनीतिमा नयाँ घुमाउरो आएको संकेतका रूपमा लिएका छन्। गठबन्धनभित्रै विश्वास संकट सिर्जना हुनु र त्यसले मुख्यमन्त्रीलाई राजीनामा दिन बाध्य पार्नुले प्रदेश राजनीतिमा अस्थिरता बढेको देखिएको छ।
लोसपा नेपालका नेताहरूले भने प्रदेश प्रमुखले आह्वान गरेपछि बहुमत सहित पुनः सोनललाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रस्ताव अघि बढाइने बताएका छन्। गठबन्धन दलबीच भइरहेको छलफलपछि मात्र अर्को कदम अघि बढ्ने उनीहरूको भनाइ छ।
संविधान अनुसार प्रदेश प्रमुखले अब सात दिनभित्र बहुमत दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गर्नेछन्। यस प्रक्रियामा कुन दलले बहुमत जुटाउन सक्छ भन्ने विषय अहिले मधेश प्रदेशको प्रमुख राजनीतिक चासोको केन्द्रबिन्दु बनेको छ।
मुख्यमन्त्री सोनलको राजीनामाले मधेश प्रदेशको राजनीतिमा नयाँ समीकरण बन्ने र आगामी दिनमा गठबन्धनको स्वरूपमा परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरूको धारणा छ।