ट्रेन्डिङ

Logout

झलनाथ खनालको अभिव्यक्तिपछि माधव नेपाल आक्रोशित: “पार्टीमा बस्ने नैतिक आधार छैन”

5.9k Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालको भनाइ सही हो भने उनीसँग पार्टीमा रहने नैतिक आधार नरहेको स्पष्ट पारे। उनले थपे, “त्यस्तो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ, यो पार्टीमा बस्ने ठाउँ छैन। नैतिक आधारै छैन। खुरुक्क राजीनामा दिनुपर्छ।”

पूर्वप्रधानमन्त्री खनालले इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए। उनले भनेका थिए, “जतिबेला पार्टी विभाजन गरियो, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु। एमालेमा जुन विद्रोह गरियो त्यो पुष्टि नै भएन। पुष्टि नहुनुको अर्थ गलत गरियो भन्ने हो।”

अध्यक्ष नेपालले यो अभिव्यक्तिलाई गम्भीर रुपमा लिँदै भने, “अचेल त एआईको जमाना छ, बोलेको पनि नबोलेको पनि आइदिन्छ स्वर मिलाएर,” भन्दै खनालको भनाइमाथि शंका गर्दै हाँसेका थिए।

पार्टी नेतृत्वको निर्णय र अस्तित्वमाथि प्रश्न उठाउने खनालको कथनले एकीकृत समाजवादीभित्र आन्तरिक मतभेद चुलिएको देखिएको छ। अब खनालले के निर्णय लिन्छन् भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार