उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्।
शुक्रबार चीनको हेनान प्रान्तमा आयोजित सांघाई सहयोग मञ्चको कार्यक्रममा सम्बोधन गर्दै रानाले नेपालले जलवायु परिवर्तनमा खास योगदान नगरे पनि यसको प्रत्यक्ष असर खेप्नुपरेको बताइन्। हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै उनले हिमनदीहरू पग्लँदा र मौसम चक्र तीव्र रूपमा परिवर्तन हुँदा ग्रामीण तथा हिमाली भेगका बासिन्दामा प्रत्यक्ष असर परेको धारणा राखिन्।
‘हामीले जलवायु संकट सिर्जना गरेका होइनौं, तर समाधानको हिस्सा बन्न तयार छौं,’ रानाले भनिन्, ‘हरित ऊर्जा प्रवर्द्धन, वातावरणीय सन्तुलन र जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि विश्व समुदायको एकता र सहकार्य आवश्यक छ।’
उपसभामुख रानाले शान्तिपूर्ण तथा स्थिर वातावरण विकासको आधार भएको उल्लेख गर्दै नेपालले आफ्नो तर्फबाट सक्दो योगदान दिँदै आएको पनि स्मरण गराइन्।