स्वतन्त्र पार्टीले देशका अन्य पुराना पार्टीहरूभन्दा फरक तरिकाले राजनीति गरेर देशमा एउटा क्रान्ति ल्याउने आशामा बसेका नेपाली जनता यतिखेर निराशामा छन्। नेपालका पुराना राजनैतिक पार्टीहरूजस्तै रास्वपाको पनि कथनी र करणीबीच ठूलो खाँडल देखिएको छ अर्थात् भनाइ अर्कै र गराइ अर्कै।
पुराना राजनीतिक दल र नेताहरुको आलोचना गर्दै नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी छोटो अवधिमा देशको चौथो ठूलो दल बनेको छ । तर, एमाले–माओवादी गठबन्धनसँग होइन तर एउटै पार्टीले आफ्नो संगठनको आधार बढाउनुपर्ने बेलामा सत्ता र त्यससँग सम्बन्धित सुविधाको उपभोग गर्न रास्वपाले पनि गठबन्धन सरकारसँग हात मिलाउँदा यसमाथि प्रश्नहरू त उठ्ने नै भयो। रास्वपा पहिलोपटक एमाले अध्यक्ष ओलीको आडमा प्रचण्ड सरकारमा सामेल भइसकेको छ । रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएका छन् । मानिसलाई अनौठो लाग्न थालिसकेको छ यो कस्तो पार्टी हो यो ? भन्छ एउटा गर्छ अर्कै । चुनाव अघि एउटा कुरा, चुनावपछि अर्कै कुरा ।
राष्ट्रिय स्वतन्त्रता पार्टीले वामपन्थी दलहरूको जालमा फसेर आफ्नो लोकतान्त्रिक विश्वसनीयतालाई कमजोर पारेको देखिन्छ। जनताको भरोसालाई तोडेको देखिन्छ। रास्वपा प्रमुख रवि लामिछानेलाई गृहमन्त्रीमा राखेर प्रचण्डले आफू र आफ्ना सहकर्मी साथीहरूका गल्ती, भ्रष्टाचार र असहाय नेपाली नागरिकमाथि हुने हिंसालाई दबाउन खाल्के सङ्क्रमणकालीन न्याय विधेयक ल्याउन खोजिरहेका छन् । यस विषयमा रास्वपा नेतृत्व सचेत देखिँदैन। रास्वपाले अस्थायी सत्ता प्राप्त गर्न जनताको विश्वास गुमाउने पक्का छ र पार्टीको लोकतान्त्रिक चरित्र पनि खस्किनेछ।
देशको राजनैतिक आर्थिक अवस्थाले गर्दा त्यसै पनि अहिले नेपाली समाजमा नैराश्यता छाएको छ। युवाहरू पलायन हुने क्रम रोकिएको छैन। राजनीतिक दल र नेतृत्वले दिएको खोक्रो आश्वासन र देखाएको झुटो सपनाहरूको कारण नै आज नेपाली जनतामा निराशा छाएको हो। यस्तोमा जनताले अलिकति भए पनि आशा राखेको रास्वपा पार्टीले पनि जनतालाई निराशा र धोकाबाहेक केही दिएजस्तो लाग्दैन।
जनमानसमा छाएको निराशा बिचमा केही आशाको ज्योति बालेर उदाएको रास्वपाले हामी फरक हौं र फरक परिणाम ल्याउने गरी काम गर्छौं भनेर उदाएको हो।
‘नो नट अगेन, बाहरू घर बस’ भन्ने नारा दिएर चुनावको बेला उदाएको पार्टीले अहिले आफ्नो नारा र जनतालाई देखाएको आशा सबै बिर्सिसकेको छ। यसैले पुरानो पार्टीको पछि पछि कुदिरहेको छ। एउटा नयाँ राजनीतिक दलले आम मानिसको मन जितेपछि कांग्रेस, एमाले र माओवादीसँग आजित नागरिकहरूले एउटा विकल्पको रूपमा रास्वपालाई आफ्नो विद्रोही मत दिएका थिए। तर अहिले गएर सोही चौथो राजनैतिक शक्तिको रूपमा उदाएको रास्वपाले पुरानै पार्टीहरूको बैशाखी समाउन पुगेको छ।
नेपालमा नयाँ गठबन्धन परिवर्तनमा चीनको हात रहेको सबैलाई थाहा छ । चीन नेपाललाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ र यसै कारणले चीनले नेपालमा कम्युनिस्ट सरकार बनाउन चाहन्छ, जसमा चीन सफल भइरहेको छ । चीनको उद्देश्यमा बनेको गठबन्धन सरकारमा बस्नुभन्दा रास्वपा जस्तो देशभक्त पार्टीले अर्को देशको निर्देशन पालना गर्ने सरकार छोड्नु नै हितकर हुनेछ।
रास्वपा-माओवादी जनयुद्धको विकृत व्याख्या गर्दै आएको दल हो । त्यसले क्रान्तिकारी हिंसा, जनसंघर्ष र बलिदानलाई अपराधका रूपमा चित्रण गर्दछ । तर, त्यही पार्टी फेरि लाजैबिना र कुनै प्रष्ट सार्वजनिक स्पष्टीकरणबिनै प्रचण्ड सरकारमा सामेल भएको छ । पार्टी नेता लामिछाने सत्ताको लोभमा पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका छन् ।
सुशासन र नैतिक राजनीतिको तर्क दिँदै आएका रवि लामिछानेले आफ्नो स्वार्थका लागि मन्त्रालय र जिम्मेवारी सम्हाल्नु कदापि मिल्दैन। रास्वपाले नेपाली जनतालाई ठुलो आशा जगाइदिएको हो। सुशासन, राम्रो शिक्षा र स्वास्थ्य, पर्याप्त रोजगारीको अवसर, उद्यम गर्ने वातावरण, समय सुहाउँदो भौतिक पूर्वाधारको विकास जस्ता आशाहरू जनतामा विजारोपण गर्ने रास्वपाले गठबन्धन सरकारमा सामेल भएर ठुलै गल्ती गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक न्यायसहित उदार अर्थतन्त्रमार्फत सबै नेपालीको समतामूलक प्रगतिका लागि प्रतिबद्ध रहेको तर्क दिँदै आएको हो । लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत समतामूलक र समावेशी समाज प्रदान गर्ने जसले व्यक्तिगत स्वतन्त्रता र मौलिक हकको सुनिश्चितताका साथै सार्वजनिक, निजी र सामुदायिक स्तरबाट स्रोत परिचालन गरी कल्याणकारी राज्यको स्थापना गर्ने कुराहरूले रास्वपाको वाचापत्रहरू भरिएका थिए।
पुराना दलहरूसँगै गठबन्धन गरेर यो देशका समस्या समाधान गर्न सकिने हो भने नयाँ राजनीतिक दलहरू किन पो बनिनु र। दु:खको कुरा, देशलाई असफलता र निराशाको भुमरीमा घुमाइरहेका दलहरू र नेतृत्वलाई वैधता प्रधान गरेर रास्वपाले आफूलाई यही राजनीतिक संस्कारको एउटा हिस्सा सावित गरिसकेको छ ।
मार्च महिनाको शुरुमा रास्वपाले प्रचण्डको नेतृत्वमा रहेका सबै माओवादी गुटहरूको अति वाम गठबन्धनसँग गठबन्धन गर्यो, जसले रास्वपाको सिद्धान्तहरू विपरीत कार्य गर्दछ। केवल सत्ताको लालसाका लागि जनताको विश्वासलाई कुल्चिनु कहाँसम्म उचित होला? रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरू र आफ्ना मूल मतदाताहरूलाई स्पष्ट पार्न आवश्यक छ कि उनले गठबन्धन सरकारमा सामेल हुने निर्णय किन गरे? उनलाई त्यस्तो के बाध्यता आइपरेको थियो अथवा प्रतिपक्षमा बसेर उनले सरकारविरुद्ध आवाज उठाउन सक्दैन थिए र? अब सरकारमा बसेर सरकारको विरोध गर्लान् त? सन्दर्भ टिप्दै जाँदा यस्ता थुप्रै प्रश्नहरूले टाउको उठाएका छन्।
यसरी वामपन्थीहरूको पछि लागेर सत्ता बाँडचुँड गर्दा रास्वपाको राजनीतिक सम्भावनालाई हानि पुर्याउनेछ। रास्वपाको भविष्यमाथि यो गठबन्धनले ठुलो प्रश्न खडा गरेको छ। रास्वपाका युवा र शिक्षित मतदाताहरू, जसले प्रगतिशील उदारवादी लोकतान्त्रिक विचारको साथमा खडा हुने सोचेर रास्वपालाई भोट दिएका थिए किनकि तिनीहरू वामपन्थी राजनीतिबाट वाक्कदिक्क भएका थिए। अब ती सबै सचेत वर्गले रास्वपाको मुलभूत सिद्धान्तलाई कसरी स्वीकार गर्ने। जसको गराई र भनाइमा एकमतता छैन त्यो पार्टीमाथि कसरी विश्वास गर्ने?
अहिले पनि बेला बितेको छैन रास्वपा अहिले पनि सत्ता गठबन्धनबाट बाहिर निस्क्यो भने नेपालमा बलियो राजनीतिक शक्तिको रूपमा उभिने सम्भावना छ, तर सत्ताको लालसाको लागि गठबन्धन सरकारमै बसिरहे यसको पतन पनि नजिकै छ।